६ पुस २०८२, आइतबार

सुनिलस्मृति गाउँपालिकाभित्र सबै बालबालिकाको स्वास्थ्य परीक्षण,तीन पालिका मिलेर स्वास्थ्य उपकरण ल्याइने

प्रकाशित मिति :  12 May, 2023 2:37 pm



राेल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रवाट प्रवाह हुने स्वास्थ्य सेवालाई चुस्त र प्रभावकारी वनाउन लुंग्री गाउँपालिका र सुनछहरी गाउँपालिकासंग समन्वय र साँझेदारी गरी आवश्यक उपकरण खरिदको व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा अन्य दुई पालिकासँग समन्वय गरेर स्वास्थ्य सम्बन्धी आवश्यक उपकरण खरिदको व्यवस्था गर्ने उल्लेख छ ।

सुनिलस्मृतिको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र तीनवटै गाउँपालिकाको उपचारका लागि मुख्य केन्द्र हो ।

गाउँपालिकाले आधुनिक जीवन शैलीसँगै मानिसमा देखा पर्ने मोटोपना, मनोसामाजिक समस्या लगायतका समस्यालाई योग र ध्यानको माध्यमवाट प्रभावकारी रुपमा न्यूनीकरण गर्न आउदो वर्ष देखिनै प्रत्येक वर्ष योग तथा ध्यान अभ्यास सम्बन्धी शिविर सञ्चालन गरिने अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए ।

विपन्न आय भएका विपन्न परिवारका सुनौलो हजार दिनका आमा तथा बालबालिकाहरूलाई पोषणयुक्त खानाको पहुँच बढाइने नीति तथा कार्यक्रम उल्लेख छ । गाउँपालिकाले आयुर्वेद उपचार पद्धतिको प्रभावकारिता अभिवृद्धि गर्न छिर्नेमा रहेको आयुर्वेद अस्पतालको क्षमतालाई थप विस्तार गरिने जनाएको छ ।

यस्तै १५ सैयाको अस्पताल निर्माण गर्ने सन्दर्भमा छिटै जग्गा प्राप्तिको विषयलाई अन्तिम टुङ्गोलगाई ठेक्का प्रक्रिया सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बस्तिस्तरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यलाई निरन्तर र विस्तार गरिनेछ तथा संस्थागत सुत्केरी लाई प्रवर्द्धन गर्दै शून्य होम डेलिभरी कायम गर्न सुत्केरीलाई यातायात वापत गाउँपालिकाको तर्फवाट एक हजार प्रोत्साहन रकम उपलव्ध गराउने व्यवस्था गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

नीति तथा कार्यक्रममा भनिएको छ,“किशोरी अवस्थामा हुने गर्भधारण र असुरक्षित यौन सम्वन्ध जस्ता क्रियाकलापमा कमि ल्याउन यौन शिक्षा र प्रजनन स्वास्थ्य शिक्षालाई विद्यालय र समुदाय स्तरमा विस्तार गरिनेछ।सोको निमित्त किशोरी सञ्जाल समुहलाई परिचालन गरिनेछ ।”

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई प्रात्साहन गर्ने कार्यक्रम ल्याइने र सो को लागि आवश्यक वित्तीय उत्प्रेरणका साथै अवलोकन भ्रमणको व्यवस्था गरिनेछ भएको छ । उपाध्यक्षसंग गर्भवती जाँच कार्यक्रमलाई निरन्तरता दिईने,पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि निरन्तर प्रयास गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

नेपाल सरकारको नीति अनुरुप स्वास्थ्य संस्था मार्फत निःशुल्क प्राप्त हुने सवै प्रकारको औषधिको प्राप्तिको सुनिश्चतताको लागि कदम चालिने, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा अस्पताल भित्र आफ्नै औषधि पसल सञ्चालनमा ल्याइने पनि नीति कार्यक्रममा समावेश छ ।

सम्पूर्ण स्वास्थय संस्था मार्फत निःशुल्क औषधी वितरण गरिने, आउदो आ.व.मा कम्तिमा २ वटा वडामा शून्य होम डेलिभरि वडा घोषणा गर्ने गरि तयारी गरिने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

गाउँघर क्लिनिक तथा बाह्य खोप क्लिनिक भवन निर्माण क्रमशः गरिने, स्थानीय तह तथा वडामा पोषण डेस्कको स्थापना गरिने, बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धी क्रियाकलापहरुको नियमित अनुगमन गरिने,सुनौला हजार दिनका महिला तथा घर परिवारलाई लक्षित गरि आय आर्जनका कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा छ ।

बालबिकास केन्द्र तथा विद्यालयमा ‘वास’ कर्नरको व्यवस्था गरिने,घरायसी स्तरमा सुरक्षित खानेपानी साथै खानेपानी सुद्धिकरण विधिको बारेमा सचेतना अविवृद्धि गरिने,विभिन्न खाद्य वस्तुमा पाइने पोषकतत्वको वितरण भएको तालिका प्रकाशन गरि किशोरी तथा सुनौला हजार दिनको परिवार लक्षित गरि वितरण गरिने भनिएको छ ।

जनताको आधारभूत स्वास्थ्य सेवा सुविधामा पहूच पुर्याउन देहायको नीति तथा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश छ ।

सवै स्वास्थ्य संस्थाहरूमा प्रयोगशालाको व्यवस्था गरी मधुमेह र रक्तचापको निःशुल्क जाँचको व्यवस्था गरिने,सवै वर्थिङ सेन्टरहरुको पूर्वाधार र गुणस्तरमा सुधार ल्याइने र सवै सामुदायिक विद्यालयमा मासिक रुपमा सवै बालबालिकाको स्वास्थ्य परीक्षण गरी जनस्वास्थ्य निग्रानी गर्न उपलव्ध स्वास्थ्य सहायक कर्मचारी परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले वैशाख २६ गते नै नीति तथा कार्यक्रम सार्वजनिक गरको हो ।



प्रतिक्रिया दिनुहोस !