२२ बैशाख २०८१, शनिबार

रोल्पाको बम काण्डपछि पूर्व एआईजी सुवेदीको आक्रोश,‘यो अभिशापको जिम्मेवारी कसैले लिनु नपर्ने ?’

प्रकाशित मिति :  3 May, 2020 9:49 am


काठमाण्डौं, २१ वैशाख ।

रोल्पाको त्रिवेणी गाँउपालिकामा बम विष्फोट भएर ४ बालबालिकाको ज्यान गएपछि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीले आक्रोश व्यक्त गरेका छन् ।

बम विष्फोटको घटनाले आफूलाई अत्यन्त दुखित तुल्याएको भन्दै पूर्व एआईजी सुवेदीले हिंसात्मक द्धन्द्धको लापरवाहीको परिणाम ती अबोध बालाहरुले मृत्यु भोगिरहने यो अभिशाप कहिलेसम्म भन्दै प्रश्न गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा उनले यस्तो अभिशापको जिम्मेवारी कसैले लिनु नपर्ने अवस्था देख्दा आजको रोल्पा कस्तो स्थितिमा छ भन्ने यथार्थता उदाङ्गो भएको उल्लेख गरेका छन् ।

रोल्पा जन्म घर भएका पूर्व एआईजी सुवेदीले भनेका छन्,‘ रोल्पाको गैरीगाउँ, दुम्ला खोलामा घटेको दुर्दान्त र हृदय बिदारक घटनाको खबरले मलाई अत्यन्तै दुखित तुल्याएको छ । हिँसात्मक द्वन्द्धको लापरबाहीको परिणाम ती अबोध बालाहरुले मृत्यु भोगिरहनु पर्ने यो अभिशापको जिम्मेवारी कसैले लिनु नपर्ने अबस्था देख्दा कस्तो स्थितिमा अझै आजको रोल्पा छ भन्ने यथार्थता उदाङ्गो भएको छ ।’

आफ्नो रक्तमुच्छेल सत्तारोहण नै सबैको उपलब्धी हो भन्ने भ्रम छर्न सफलहरुले यस्ता दुर्घटनालाई सामान्य ठान्नु स्वाभाविक होला भन्दै पूर्व एआईजी सुवेदीले कुनै पनि बर्बरताका कारणहरु अस्वीकार गर्ने बिबेकी र संवेदनशील समाजले यस्ता घटना हिँसाका अदृश्य तर बर्बर असर हुन् भन्ने राम्रैसँग बुझेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ यस प्रकृतिका सामाग्रीहरु अझै कुन खोल्सा र खहरेमा छन् र कति निर्दोष रोल्पाली बालाहरुले हिँसात्मक द्वन्द्धको थन्काईएको खेतीको कूत अझै तिरिराख्नु पर्ने हो ? अज्ञात नै छ ।

पूर्व एआईजी सुवेदीले तिरो उठाउन सकृय तह तहको शासन प्रशासनले निरीही परिवारजनलाई अक्षम्य क्षतिको उच्चतम क्षतिपूर्ती दिएर एवं यस प्रकृतिका घटनाको पुनरावृत्ति हुन नदिन जवाफदेहीपूर्ण परियोजना सञ्चालन गर्ने जिम्मेवारी देखाउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार:

बम विष्फोटको छानविन गर्न गर्न प्रदेश र संघीय सरकारलाई गाँउपालिकाको आग्रह

 

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

विष्फोटमा ज्यान गुमाएका बालबालिकालाई शहिद घोषणा गर्न कांग्रेस रोल्पाको माग

रोल्पाको गैरीगाँउमा बम विष्फोट,४ बालबालिकाको मृत्यु



प्रतिक्रिया दिनुहोस !