१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोकाकोला -दर्तैबिना अर्बौंको कारोबार

प्रकाशित मिति :  15 January, 2022 2:08 pm


काठमाडौं । नेपालमा बहुराष्ट्रिय कम्पनी- द कोकाकोला कम्पनीले दशकौंदेखि आफ्नो स्थानीय व्यवसाय दर्तै नगरी कारोबार गर्दै आएको पाइएको छ । २०२९ सालमा तत्कालीन बोटलर्स नेपाल प्रालिले ब्रान्ड सञ्चालन अनुमति (फ्रान्चाइज) लिइ २०३५ सालबाट बोटलिङ व्यवसाय गर्दै आएको भए पनि माउ कम्पनी- द कोकाकोला कम्पनी लि. ले स्थानीय व्यवसाय नै दर्ता नगरेको पाइएको हो ।

बोटलिङ व्यवसाय सञ्चालन गर्दै आएको बोटलर्स नेपाल र उसको सह-कम्पनी बोटलर्स नेपाल (तराई)ले माउ कम्पनी द कोकाकोला कम्पनीबाट सिरप (कन्सन्ट्रेट) किनेर यहाँ चिनी-पानी मिसाएर बेच्दै आएको छ । सोबापत बोटलर्स नेपाललाई सिरपको मूल्यबापत वार्षिक २ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा बुझाउँदै आएको छ ।

“कोकाकोला कम्पनीले नेपालबाहेक अन्य दक्षिण एसियाली देश- भारत, बंगलादेश, श्रीलंका सबैमा सिरप (कन्सन्ट्रेट) कारोबारका लागि स्थानीय कम्पनी दर्ता गरेको छ, तर नेपालमा मात्र दशकौंदेखि कोकाकोलाले बिनादर्ता स्थानीय कारोबार गर्दै आएको पाइएको छ,” कम्पनी स्रोतले भन्यो ।

कम्पनीले ब्रान्ड हेर्ने गरी स्थानीय कारोबार कार्यालय स्थापना गरेका भारत, बंगलादेश, श्रीलं‍कालगायतका अन्य मुलुकमा स्थानीयलाई रोजगारी उपलब्ध गराउने गरिएकोमा नेपाललाई भारतीय उपप्रान्तीय कारोबार केन्द्रका रुपमा व्यवहार गर्दै भारतीय कार्यालयले ७० कै दशकदेखि कारोबार हेर्दै आएको छ ।

नेपाली फ्रान्चाइज कम्पनी- बोटलर्स नेपालले माउ कम्पनी द कोकाकोला कम्पनीलाई सिरप (कन्सन्ट्रेट)को रकमबापत एलसी खोलेर रकम पठाएपछि  कोकाकोला इन्डिया एन्ड साउथ वेस्ट एसिया‌ (इन्स्वा)ले यहाँका लागि पठाइने सिरप (फर्मुला भनेर चिनिने कोकासहित केही जडिबुटी र चिनीको अनुपात मिसाइएक दुईथरि झोल)को अनुपात निर्धारण गर्छ र त्यो मिसाउने प्राविधिक पनि इजिप्ट र सिंगापुरबाट बोलाउने गर्छ । ती प्राविधिकको भुक्तानी सफ्ट ड्रिंक इन्टरनेसलका नाममा बोटलर्स नेपालले नै गर्छ ।

नेपालमा दर्ता भएका उद्योगले व्यापारिक कारोबार गर्न नपाउने कानुनी प्रावधानअनुसार नेपालमा उत्पादन नहुने कोकाकोला समूहका उत्पादनहरू, क्यानमा भएका कोकाकोला उत्पादन, माजा, मिनटसहितका अन्य इनर्जी ड्रिंकहरूको कारोबार गर्न आव २०४९/५० मा बोटलर्स नेपाल लि.को सहायक कम्पनीको रूपमा ट्रोयका ट्रेडर्स प्रालि दर्ता गरिए पनि अवैधानिक रुपमा भारतीयका नाममा दर्ता सार्न खोजिएपछि अहिले त्यसको कारोबार पनि ठप्प छ ।

भरतपुरस्थित बोटलर्स नेपाल- तराई लि.को ‘पेट- लाइन विस्तार’ नाममा  सिंगापुरको फुड एन्ड बेभरेज सोलुसन्स (फ्याब्स)लाई भुक्तानी गर्नुपर्ने सवा २ अर्ब रुपैयाँ  नेपाली कम्पनीलाई पछि कृत्रिम रूपमा साझेदारका रुपमा उभ्याइएको थियो । फ्याब्सले विश्वव्यापी रूपमा नै कोकाकोलाका उत्पादन लाइन विस्तारको काम गर्छ । नेपालभित्र भएको कामको विदेशी कम्पनीलाई भुक्तानी गर्दा नेपाल राष्ट्र बैंकबाट विदेशी विनिमय कारोबारसम्बन्धि अनुमति लिनुपर्छ । फ्याब्स नेपालमा दर्ता नभएका कारण यसरी कृत्रिम साझेदार राखेर भुक्तानी गरिएको हो ।

भुक्तानी तथ्यांकमै चलखेल

बोटलर्स नेपालले गत आर्थिक वर्ष २०७७/७८ मा प्यासिफिक रिफ्रेसमेन्ट पीटीइ लि., सिंगापुरबाट २ अर्ब ५५ करोड १९ लाख रुपैयाँको कन्सन्ट्रेसन किनेको उल्लेख गरे पनि भन्सार विभागको तथ्यांकले सिंगापुरबाट २ अर्ब १० करोड रुपैयाँको मात्र कन्सन्ट्रेसन आयात भएको देखाएको छ ।

“कन्सन्ट‍्रेसनबापत नेपाललाई बढी चार्ज गरेर यहाँबाट डलर भुक्तानी लिने गरेको गरिएको छ । कोकाकोला कम्पनीले नेपालका लागि दुई वटा खाता (बुक) देखाउँछ, एउटा स्थानीय कारोबारको, अर्को वास्तविक भुक्तानीको,” कम्पनी स्रोत भन्छ ।

कोकाकोला कम्पनीले नेपाललाई अन्य दक्षिण एसियाली बजारभन्दा सिरप (कन्सन्ट्रेट)मा महँगो मूल्य लिने गरेको स्रोतको भनाइ छ । “अन्य दक्षिण एसियाली बजारमा बेचिने कन्सन्ट्रेटको १५ देखि १७ प्रतिशत रहेकोमा नेपालबाट २३ देखि २५ प्रतिशतसम्म भुक्तानी लिइन्छ । यसले गर्दा नेपालमा उत्पादित कोकाकोला भारतमा भन्दा प्रतिलिटरका हिसाबले नेपालमा महँगो छ,” कम्पनी स्रोतले भन्यो ।

उदाहरणका लागि बोटलर्स नेपालले २.२५ लिटरको कोकाकोला २२५ रुपैयाँमा उपभोक्तालाई बेच्दा उपभोक्ताले तिरेको पैसाबाट सिरप (कन्सन्ट्रेट)का लागि ५६ रुपैयाँ २५ पैसा कम्पनीले एलसीमार्फत कोकाकोला कम्पनीलाई भुक्तानी पठाउँछ । भारतमा सोही अनुपातको कोकाकोला पेट बोटलको मूल्य ८० रुपैयाँ भारू (१२८ रूपैयाँ नेपाली) पर्छ भने भारतीय बोटलरले १३ रूपैयाँ ६० पैसा (२१ रूपैयाँ ७६ पैसा नेपाली) मात्र सिरप (कन्सन्ट्रेट)को मूल्यबापत बुझाउनु पर्छ ।

अपारदर्शी ब्रान्ड कारोबार

कम्पनीले ब्रान्ड प्रबर्धनका लागि नेपालमा रहेका बजारीकरण कम्पनीलाई भारतबाट वार्षिक बजेट र योजना बनाइ उतैबाट भुक्तानी गर्ने गरिएको स्रोतले बतायो । यसरी बजारीकरण गतिविधिमा भारतबाट कारोबार हुँदा यहाँको कर नतिरिएको विषयसमेत शंकास्पद भएपछि अहिले राजस्व अनुसन्धान विभागले यसमा छुट्टै अनुसन्धान गरिरहेको विभाग स्रोत बताउँछ ।

मुख्यसचिव कार्यालयमा चिठ्ठी दर्ता

यसैबीच, बोटलर्स नेपालको स्वामित्व नेपाल बाहिर नै पाँच पटक किनबेच भएको र त्यसबापत नेपाल सरकारलाई तिर्नुपर्ने आकस्मिक लाभ कर, पुँजीगत लाभ कर र अग्रिम आयकरसहितका कर नतिरिएको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान टुंग्याइसके पनि त्यो मुद्दा अदालतमा दायर हुनबाट रोक्न कम्पनी व्यवस्थापनले चलखेल गर्न थालेको छ ।

“कोकाकोलाका तर्फबाट पुस १८ गते एउटा बन्द खाम ल्याएर मुख्य सचिवज्यूको नाममा दर्ता गरिएको छ र त्यो खाम ‘सम्बन्धित शाखा’मा पुर्‍याइसकिएको छ,” प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय स्रोतले भन्यो, “खाममा के थियो, हामीलाई थाह हुने कुरा भएन ।”

पुस १८, १९ र २० गते नै बोटलर्स व्यवस्थापनका तर्फबाट केही मन्त्री र राजनीतिक दलका नेतालाई समेत भेटेर मुद्दा दायर हुनबाट रोक्न लबिङ भएको कम्पनी स्रोत बताउँछ । पुस २८ गते सम्पन्न भएको साधारण सभामा कम्पनीका व्यवस्थापकहरूले “सरकारी वकिल साबसँग कुरा मिलिसकेकोले मुद्दा नचल्ने भएको” भन्दै मुख्य सेयरधनीहरूलाई आश्वस्त तुल्याएका थिए ।

सेयरधनीलाई थाहै दिइएन

कम्पनीको सेयर स्वामित्व किनबेच भएको र यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान टुंग्याइएको भए पनि बोटलर्स नेपालले कम्पनीका सेयरधनीहरूलाई यस विषयमा थाहै दिइएको छैन । बोटलर्स नेपाल र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) दुवै सेयर बजारमा सूचिकृत कम्पनी हुन् । कम्पनीको गत पुस २८ गते भर्चुअल रुपमा सम्पन्न साधारण सभामा यस विषयमा केही थाहा नदिइ छोटो समयमै औपचारिकता पूरा गरेर सम्पन्न गरिएको सेयरधनीहरू बताउँछन् ।


यो पनि पढ्नु होस्

मुद्दा दायर हुनबाट रोक्न मुख्य सचिवसँग लबिङ गर्दै कोकाकोला व्यवस्थापन

कोकाकोलाको फायलमा महान्यायाधिवक्ता खातीको ‘अस्वाभाविक चासो’, मुद्दा दायर गर्न आलटाल

कोकाकोलाका ट्रेड युनियनले भने- “कर छली प्रकरणले शिर निहुरिने बनायो”

कोकाकोलामाथि मुद्दा दायर गर्ने अन्तिम तयारी, सात दिने सूचना जारी
बोटलर्स नेपालमा छापा मारिएको एक वर्ष पुग्यो

कोकाकोला कर छली अनुसन्धान तेस्रो महानिर्देशकको काँधमा

महालेखाले कर छली ठहर गरेको बोटलर्स नेपाललाई आईक्यानको पुरस्कार!
महालेखाले भन्योः कोकलाई ५३ करोड रुपैयाँ पुँजीगत लाभकर ब्याज र जरिवानासहित तिराऊ
बोटलर्स नेपालमा वैदेशिक लगानीको लेखांकन नै छैन

पेप्सीकै शैलीमा ‘ट्रेड डिस्काउन्ट’ का नाममा भ्याट छल्दै कोक

अनुसन्धान छल्दै कोकाकोलाको व्यवस्थापन
कोकको दक्षिण एसिया कार्यालय पनि कर छलीमा तानिँदै


 



प्रतिक्रिया दिनुहोस !